अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताएका छन् । प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णय समेत गरिने स्पष्ट पारे ।
उद्योगी व्यवसायीका तीन वटा छाता सङ्गठनका पदाधिकारीसँग आज आयोजित छलफलमा उहाँले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मङ्गलबार आवश्यक निर्णय लिइने बताए । सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो । यद्यपि केही प्राविधिक जटिलताका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
आजको भेटमा प्रधानमन्त्री प्रचण्डले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताए । अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन ।
निजी क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताए । विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबिचको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका थिए ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अङ्गले सरकारलाई साथ दिनुपर्ने बताए ।
प्रतिक्रिया