२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जनपक्षीय पत्रकारिताका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’

जनपक्षीय पत्रकारिताका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’

गण्डकी टाइम्स
सोमवार, जेठ १३ २०८२
गण्डकी टाइम्स
सोमवार, जेठ १३ २०८२
    • सागर पन्त
    आज जेठ १३ गते सहिद कृष्णसेन इच्छुक (२०१३–२०५९) को २३औँ स्मृति दिवस । आजभन्दा २३ वर्षअघि आजकै दिन जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका आदर्श व्यक्तित्व र क्रान्तिकारी नेता इच्छुकको हत्या भएको थियो । माओवादी जनयुद्धका बेला नेकपा माओवादीले सञ्चालन गरेको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक इच्छुकको जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । शोषित पीडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने राजनीतिक विचारक तथा आदर्शवान् व्यक्तित्व इच्छुक आफ्नो वर्ग र विचारप्रति सधैँ समर्पित थिए । सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । उनले आफ्नो प्रारम्भिक शिक्षा दाङको लालमटियामा लिए । सामान्य लाहुरे परिवारमा जन्मेका इच्छुकले आफ्नो जनसाहित्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । बहुआयामिक व्यक्तित्वका धनी इच्छुक एक जुझारु जनपत्रकार थिए । प्रगतिशील साहित्यको क्षेत्रमा इच्छुकले छुट्टै छाप समाजलाई छाडेका छन् । उनको साहित्यिक रचनाले तत्कालीन नेपाली समाजको मथिंगल हल्लाइदिएको थियो भने शासकको निदहराम गरिदिएको थियो । कृष्ण सेन इच्छुकको पत्रकारिता केवल समाचार लेख्ने अभ्यास थिएन, त्यो समाजको परिवर्तनका लागि शब्दमार्फत संघर्ष गर्ने आन्दोलन थियो। उनी जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक थिए। पत्रकारितामार्फत जनताको आवाज बुलन्द गरिरहेका इच्छुक सत्ताका लागि खतरा थिए । किनकि उनले सत्य बोल्ने साहस राख्थे। दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा इच्छुकले ‘शोकाञ्जलि’ काव्य लेखे, जुन २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भयो । इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८) आदि इच्छुकका कृति चर्चित छन् । उनले लेखेको ‘पर्खालभित्रका बन्द आवाजहरू’ प्रकाशनमा आइसकेको छैन । जुझारु क्रान्तिकारी योद्धा कृष्णसेन इच्छुक मूलतः नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सफल भए । निरन्तर जनताका पक्षमा कलम चलाउने इच्छुकको पत्रकारिताबाट त्यति बेलाका शासकको मन–मुटु हल्लिन्थ्यो भने जनताले ऊर्जा प्राप्त गरेको महसुस गर्थे । क्रान्तिकारी योद्धा इच्छुकको भूमिकालाई तत्कालीन निरङ्कुश शासकले रुचाएनन् । इच्छुकलाई तत्कालीन सत्ताले पटक–पटक गरी दश वर्षसम्म जेलमा यातनापूर्वक थुन्यो । अन्त्यमा जनयुद्धकैबिचमा इच्छुकलाई २०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते उनको हत्या गरियो । यसरी इच्छुकले ४६ वर्षको उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन आहुति दिए तर कहिल्यै झुकेनन् । प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उनले पुयाएको योगदान अतुलनीय छ । उनको त्यागबाट आजको नेपाली समाजले धेरै कुरा सिक्न जरुरी छ । अझ आफूलाई जनपक्षीय राजनीतिज्ञ भन्नेहरूले उनको आदर्शलाई व्यवहारमा लागु गर्न सक्नुपर्छ । उनको जस्तै सबैले त्याग गर्न सके आज पनि नेपाली समाजलाई रूपान्तरण गर्ने समय लाग्दैन । उनले आफ्नो जीवनकालभरि जहिल्यै त्यागको प्रतीकका रूपमा भूमिका निर्वाह गरे । उनले आफ्नो व्यक्तिगत लाभ, प्रतिष्ठा र सुविधामातर्फ कहिल्यै ध्यान दिएनन् । सबै कुरा अरूलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने महान् भावना हामीले लिन जरुरी छ । इच्छुक आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक थिए । नेपाली जनपक्षीय पत्रकारिताका एक आदर्श, जनयुद्धका आदर्श नायक इच्छुकका योगदानलाई थप स्थापित गर्न आवश्यक छ । इच्छुकका वीरता, बलिदान र आदर्श नायकत्वबाट धेरै कुरा सिक्दै जीवन व्यवहारमा लागु गर्न सक्नुपर्छ । अनि मात्र इच्छुकप्रतिको सच्चा सम्मान हुन जान्छ । समाज रूपान्तरण अभियानमा निरन्तर खट्न सक्ने इच्छुक आस्था र निष्ठामा सतिसाल थिए । उनले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भूमिका र देखाएको बाटोलाई आजको सन्दर्भमा जनपक्षीय पत्रकारले अनुसरण गर्न भुल्नु हुँदैन । विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ । देशको मुक्ति र जनताको पक्षमा कमल चलाउँदा जेलनेल हुँदै अन्ततः जीवन नै बलिदान गर्न तयार हुने इच्छुकको जीवनबाट त्याग र समर्पण र जनपक्षीय पत्रकारिताको मूल्य सिक्न सक्नुपर्छ । कतिपय मान्छे मरेर पनि सधैँ बाँचिरहेका छन् । हो, कृष्ण सेन ‘इच्छुक’ यस्तै एउटा महान् मान्छे थिए, जो मरेर पनि सधैँ बाँचिरहेका छन् । जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व इच्छुक आफ्नो आस्था र विचारप्रति सधैँ अडिग थिए । समाजमा हुने अन्याय, अत्याचारविरुद्ध कलममार्फत गर्जने जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्व ‘इच्छुक’प्रति हार्दिक श्रद्धासुमन !

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij