२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राजनीतिक चिन्तक बास्ताकोटी भन्छन्: ‘कांग्रेस सामाजिक सञ्जाल र भाइरल ट्रेन्डले बनेको पार्टी होइन’

राजनीतिक चिन्तक बास्ताकोटी भन्छन्: ‘कांग्रेस सामाजिक सञ्जाल र भाइरल ट्रेन्डले बनेको पार्टी होइन’

गण्डकी टाइम्स
आइतवार, आश्विन १८ २०८३
गण्डकी टाइम्स
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं, १८ असोज । राजनीतिक चिन्तक तथा अनुसन्धानकर्ता युवराज बास्ताकोटीले नेपाली कांग्रेसको नेतृत्व सामाजिक सञ्जालमा देखिएको लोकप्रियता वा भाइरल ट्रेन्डका आधारमा तय गर्न नहुने बताएका छन्। नेपाली कांग्रेस आजको सामाजिक सञ्जालले निर्माण गरेको पार्टी नभएको उल्लेख गर्दै उनले कांग्रेस कुनै लहडमा जन्मिएको राजनीतिक दल पनि नभएको बताएका छन्। सयौँ युट्युब तथा सामाजिक सञ्जालमा चर्चामा आएको आधारमा पार्टीको सभापति वा महामन्त्री बन्न खोज्नु राजनीतिक रूपमा उचित नहुने उनको भनाइ छ।

    बास्ताकोटीले कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ता अहिले पनि विभिन्न समस्या र अन्यायमा रहेको उल्लेख गर्दै राजनीतिलाई ‘कारोबार’ बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्। उनका अनुसार कांग्रेसको महामन्त्री बन्ने व्यक्तिमा लोकतन्त्रप्रतिको अटल निष्ठासँगै पार्टीको इतिहास, विचार र संगठनबारे गहिरो बुझाइ हुनुपर्छ। त्यस्तै, संगठन निर्माण गर्ने क्षमता, त्यागको राजनीतिक संस्कार, व्यक्तिगत स्वार्थभन्दा पार्टी र राष्ट्रलाई प्राथमिकता दिने चरित्र तथा असहमति सुन्न सक्ने लोकतान्त्रिक संस्कार आवश्यक रहेको उनले बताएका छन्।

    बास्ताकोटीले अग्रजको अनुभव, वर्तमान पुस्ताको ऊर्जा र नयाँ पुस्ताको प्रविधि तथा आकांक्षाबीच पुल बन्न सक्ने नेतृत्व आवश्यक रहेको पनि बताएका छन्। संकटका बेला निर्णय लिन सक्ने साहस, नैतिक तथा व्यक्तिगत स्वच्छता र जनतासँग प्रत्यक्ष सम्बन्धलाई उनले नेतृत्वका महत्वपूर्ण गुणका रूपमा प्रस्तुत गरेका छन्। उनले सामाजिक सञ्जालमा कति फलोअर छन् वा कति पटक ट्रेन्डिङ भयो भन्नेभन्दा लामो समयदेखि विचार, संगठन, संघर्ष र जनताका बीचमा उभिएको व्यक्तिको विश्वसनीयता महत्वपूर्ण हुने बताएका छन्।

    महामन्त्रीले आगामी ४० वर्षको नेपालबारे स्पष्ट सपना, नीति र कार्यदिशा बोकेको हुनुपर्ने उल्लेख गर्दै बास्ताकोटीले नेतृत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणसमेत आवश्यक रहेको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij