२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

दशैँँ मौसम : देशभर वर्षा, आज दिनभर मौसम नखुल्ने

दशैँँ मौसम : देशभर वर्षा, आज दिनभर मौसम नखुल्ने

गण्डकी टाइम्स
मंगलवार, आश्विन १८ २०७९
गण्डकी टाइम्स
मंगलवार, आश्विन १८ २०७९
  • काठमाडौं, १९ असोज । अहिले देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार हिजै दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो। ‘अहिले पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ’, मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौंकै हकमा पनि आज दिउँसो केही बेर मौसम खुले पनि वर्षा नै हुने देखिन्छ।’ मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै राति पनि प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij